उपमहानगरपालिकाका तीन निर्णय  : जनतासंग मेयर फेसबुक लाईभ, सचेत नागरिक सम्मान, १० स्थानमा वाईफाई फ्रि गरिने

उपमहानगरपालिकाका तीन निर्णय : जनतासंग मेयर फेसबुक लाईभ, सचेत नागरिक सम्मान, १० स्थानमा वाईफाई फ्रि गरिने

3 March, 2019

LOCAL GOVERNMENT

0 comments

धनगढी,१८ फागुन ।
अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवसका अवसर पारेर धनगढी उपमहानगरपालिकाले शनिवारदेखि पार्क मोडमा प्रतिदिन दुई घण्टा वाई फाई फ्रि गरेको छ ।

धनगढी पार्कमोडबाट शुरु भएको वाई फाई फ्रि सुबिधा केही समय भित्र धनगढी उपमहानगरपालिका अन्तर्गत बसपार्क, सेती अञ्चल अस्पताल, बिमानस्थल लगायत १० वटा स्थानमा विस्तार गरिने उपमेयर सुशिला मिश्र भट्टले बताईन ।

धनगढी उपमहानगरपालिकाको आयोजना र आरडीआरसी सुशासन परियोजनाको सहकार्यमा अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर भट्टले नगर क्षेत्रका समस्याका सम्बन्धमा चासो व्यक्त गर्ने, सुझाव,सल्लाह र गुनासो दिने नागरिकमध्येबाट प्रत्येक महिना एक जनालाई सचेत नागरिक सम्मान प्रदान गरिने बताईन ।
त्यस्तै प्रत्येक महिनाको अन्तिम शुक्रवार दिउसो दुई बजेदेखि तीन बजे जनतासंग मेयर फेसबुक लाईभ गरिने उपमेयर भट्टले जानकारी दिईन ।

उनले पारदर्शिता र सूचनाको हकको ग्यारेण्टीका लागि उपमानगरपालिकाले सम्पूर्ण जानकारी ईन्टरनेट मार्फत सार्वजनिक गरिरहेको बताईन ।

कार्यक्रममा सेसीका सुशासन सल्लाहकार बिनोद उपाध्यायले सुशासनका लागि स्थानीय सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुका साथै स्थानीय सरकारका हरेक निर्णय, योजना र कामका विषयमा जनताले सहजै जानकारी पाउनु पर्ने बताए । 
आरडिआरसी सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर प्रसाद करिया प्रधानले खुला तथ्यांक दिवसको महत्व र कार्यक्रमको औचित्यमाथि प्रकाश पारे ।

कार्यक्रममा सरप्राईज धनगढीका सदस्यहरुले ‘फल्यास मुभ स्ट्रिट ड्रामा’ द्वारा धनगढी उपमहानगरपालिकाले विगतमा दिएको सूचनाबारे दर्शाइएको थियो । विगतमा सूचना उपलब्धतामा नागरिकको पहुँचमा कमी रहेको र हाल धनगढी उपमहानगरपालिकामा सूचना प्रविधिको दीगो प्रयोगले स्थानीय सरकार नागरिकप्रति जवाफदेही संयन्त्र अपनाएको र कार्यान्वयन गरिरहेको देखाइएको थियो । 

धनगढीको डाटा पोर्टलको माध्यमबाट र सूचना प्रविधि केन्द्रबाट सूचनाहरु नागरिकलाई वितरण, जानकारी दिइरहेको दृश्य देखाइएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका सेवाबारे जानकारी दिने स्टलहरु पनि राखिएका थिए ।

0 Comments

Leave your comments

;