मुलुक समृद्धिको बाटोमा : प्रधानमन्त्री

मुलुक समृद्धिको बाटोमा : प्रधानमन्त्री

21 February, 2019

LOCAL GOVERNMENT

0 comments

धनगढी, ९ फागुन । 
     प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सभालाई बुधबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको आधार तयार भएको बताए ।
    कतिपय ठूला आयोजनाहरुको कामले तीव्रता पाएको र केही आयोजना शुरुवातको चरणमा रहेका उनले बताए । गठन भएको एक वर्षको अवधिमा महत्वपूर्ण कानुन निर्माण, संघीयता र कर्मचारीको व्यवस्थापन जस्ता महत्वपूर्ण काम गरेर सरकारले विकासको आधार तयार गरेको बताए ।
    ‘बितेको एक वर्ष कानुन निर्माणको आधार वर्षका रुपमा रह्यो । नौलो अभ्यास संघीयतको व्यवस्थापन पनि ग¥यौं । यो अवधिमा विकासका काम पनि संगसँगै अगाडि बढायौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘विकासको आधार भएको छ । अब मुलुक अझ तीव्र अगाडि बढ्छ ।’
    विकास, समृद्धि र सुशासनलाई सरकारले प्रमुख प्राथमिकता राखेको उनले बताए । विकास, निर्माणमा हुने ढिलाई र अनियमितता कुनै हालतमा स्वीकार्य नहुने उनले बताए । ‘हामी भ्रष्टाचार गर्दैनौं र गर्न दिँदैनौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकार तत्पर छ ।’
    लोकतन्त्रका नाममा मनपरी गर्ने छुट कसैलाई पनि नभएको उनले बताए । प्रधानमन्त्री ओलीले क्रान्तिका नाममा अशान्ति मच्चाउने, मुलुकलाई प्रगतिको बाटोमा जान नदिने चन्दाका नाममा लुट मच्चाउनेजस्ता राजनीतिक आवरणमा गरिने गतिविधिलाई छुट दिन नसकिने बताए ।
    विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति लक्षित गर्दै उनले भने, ‘लोकतन्त्रका नाममा जसले जे गर्न पनि पाउने, गाली गर्ने छुट कसैलाई पनि छैन । त्यस्ता गतिविधि विरुद्ध सरकारले उचित कदम चाल्छ । क्रान्तिका नाममा अशान्ति मच्चाउने, मुलुकलाई प्रगतिको बाटोमा जान नदिने, पूर्वाधार निर्माणमा अवरोध गर्ने देश डुबाउने गतिविधि हुन्, सरकार यस्ता गतिबिधि हेरेर बस्न सक्दैन ।’ 
     शान्ति, सु–व्यवस्था विना विकास सम्भव नभएको उनले बताए । धर्मको नाममा समाजमा द्वन्द्व सिर्जना गर्ने गतिविधि पनि पाच्य नहुने ओलीले बताए । धर्मका नाममा प्रतिगमनको सपना नबोक्न उनले राजावादीलाई चेतावनी दिए ।
    धर्मको राजनीति गरेर राजतन्त्र फर्कन्छ भन्ने सपना नसोच्न उनले आग्रह गरे । धार्मिक स्वतन्त्रताको फाइदा उठाउँदै धर्मका नाममा राजनीतिक उद्देश्य प्राप्त गर्ने चेष्टा स्वीकार्य नहुने उनको भनाइ थियो ।  
    प्रतिपक्षी दलले सरकार अधिनायवादतर्फ जान थालेको भन्ने हल्ला चलाएकोप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाए । लोकतान्त्रिक विधिबाट जनताले चुनेर पठाएको सरकार गठन भएकाले जनमतको कदर गर्न उनले विपक्षीलाई आग्रह गरे । यो सरकार अरुले ल्याएको लोकतन्त्रमा बनेको नभइ मुलुकमा लोकतन्त्र ल्याउन आफैँ लडेको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 
    ‘कसैले ल्याइदिएको लोकतन्त्रमा सरकार बनेको होइन, लोकतन्त्र ल्याएर लोकतान्त्रिक विधिबाट सरकार बनेको हो ।’ नेपाली काँग्रेसलाई लक्षित गर्दै उनले भने, ‘मुलुकमा लोकतन्त्र ल्याउन हामीले जेलनेल भोगेका छौं, संघर्ष गरेका छौं । त्यसैले लोकतन्त्रको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो ।’
    एकै दलको बहुमत आउन कठीन निर्वाचन प्रणालीमा पनि जनताले देशको विकास र समृद्धिका लागि कम्युनिस्टलाई बहुमत दिएकोले सरकार जनताको म्याण्डेडबाट विचलित हुन नसक्ने उनले प्रष्ट पारे । आफूलाई लोकतान्त्रिक भन्ने दलको भन्दा आफूहरु लोकतान्त्रिक आन्दोलनमा बढी संघर्ष गरेको ओलीले बताए ।
    ‘कम्युनिस्ट भनेका अधिनायकवादी होइनन्, कम्युनिस्ट भनेको लोकतन्त्र हो । हामी लोकतन्त्रका लागि लामो लडाइ लडेका छौं ।’ उनले भने, ‘कसैले आफूअनुकुल परिभाषा गरेको लोकतन्त्र होइन, हामीले सामाजिक न्याय, समानतासहितको लोकतन्त्र खोजेका हौं ।’
    सामाजिक न्याय, समानता, विकास, समृद्धिमार्फत समाजवादमा जानु नै वास्तविक लोकतन्त्र भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । निर्मला हत्या घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता पनि उनले जनाए ।
    यस्तै सुदूरपश्चिम प्रदेशको विकास लाग्न पनि उनले प्रदेश सभा र प्रदेश सरकारलाई आग्रह गरे । यहाँको विकासमा प्रदेश सरकार अग्रसर हुन आग्रह गर्दै प्रधानमन्त्रीले केन्द्र सरकार पनि सहयोग गर्न तयार रहेको बताए । प्रदेशले राजधानीका लागि तोकेको स्थान उपयुक्त भएको पनि उनले बताए ।

कृषिमा आधुनिकीकरण जरुरी
प्रधानमन्त्री ओलीले मुलुकमा औद्योगिक विकास गरेर उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक रहेको बताए । प्रदेश सभामा उनले आयात रोक्न र निर्यात बढाउनका लागि पनि उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक रहेको उल्लेख गरे । 
‘त्यसैका निम्ती काठमाण्डौंमा आगामी चैत १४ र १५ गते लगानी सम्मेलन गर्न गइरहेका छौं’, उनले भने–‘किनभने, उद्योग खोल्ने मान्छेले पैसा र प्रविधि लिएर आउँछ ।’ लगानी सम्मेलन असफल पार्ने, बाह्य लगानी भित्र्याउन नदिने र भारतसंगको सम्बन्ध बिग्रियोस भन्ने उद्देश्यले विभिन्न प्रयास भइरहे पनि त्यसलाई सरकारले असफल पार्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । 
हिजोका दिन औद्योगिक विकासमा गलत अभ्यास भएको उनले बताए । ‘उद्योगमा हिजो भएको गलत अभ्यासले गर्दा उद्योग ध्वस्त भयो, धेरैको रोजगारी खोसियो’, प्रधानमन्त्रीले भने–‘त्यसैले अब उद्योग स्थापनाको वातावरण बनाउने र विकास गर्ने कार्य सरकारले गर्छ ।’
 उनले पञ्चेश्वर परियोजना निर्माणका लागि भारत सरकारसंग सम्झौता गरिएको र निर्माणका लागि प्रयास जारी राखेको बताए । ‘आफ्नो लाभ अलिक कम भएको भन्दै औपचारिक रुपमा पञ्चेश्वर बनाउनतर्फ भारतको ध्यान नगएको जस्तो देखिन्छ’, प्रधानमन्त्रीले भने–‘तर, उसले औपचारिक रुपमा बनाउँछु भन्दै आएकोछ । बनाउनका लागि हामीले सहकार्य गरिरहेका छौं ।’
       उनले सिँचाइ सुविधाका लागि महाकाली नदीको पानी यथोचित तरिकाले लिने उल्लेख गरे । यसैगरी, दोधारा चाँदनीका लागि शारदा नदीको १० क्युसेक पानी प्राप्त गर्ने सहमति पनि भारतसंग भएकोले त्यो पानी लिनलाई धेरै समय नलाग्ने बताए । ‘शारदाबाट १० क्युसेक पानी ल्याएमा दोधारा चाँदनीको सिँचाइका लागि पर्याप्त हुन्छ’, प्रधानमन्त्रीले भने ।  
       उनले सुदूरपश्चिम प्रदेशमा पर्यटन, विद्युत, उर्जा, सिँचाइको धेरै सम्भावना रहेको बताए । ‘यहाँ माउन्टेन चढ्ने, पदयात्रा गर्ने, धार्मिक तथा पवित्र र रमणीय थुप्रै स्थलहरु छन्’, ओलीले भने–‘जसले दुनियाँको आकर्षण हुन सक्दछ ।’ 
सुदूरपश्चिममा रहेको सेती, महाकाली, कर्णाली जस्ता नदीमा जलविद्युतको धेरै सम्भावना रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले ठूलो सिँचाइ गर्न सक्ने रानी जमरा कुलरिया सिँचाइ आयोजना अगाडि बढेको उल्लेख गर्दै भने–‘पानी छोड्ने मुहना लगभग तयार भएको छ । यसबाट ३८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधाको प्रबन्ध हुनेछ ।’
       सुदूरपश्चिम प्रदेशमा खान लाउन नपुग्ने कुनै कारण नरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले यहाँ खाद्य पदार्थमा आत्मनिर्भर हुन सक्ने प्रकृति रहेको भन्दै अगाडि थपे–‘यहाँ राम्रा फाँट छन्, खेत छ, अत्यन्त उर्वर जमिन छ । खाली खाँचो छ त कृषि आधुनिकीकरण र व्यवसायीकरणको ।’
       उनले उन्नत जातको बीउ, बाली, उन्नत तरिका र प्रविधिको प्रयोग गरेर उत्पादकत्व बृद्धि गर्नमा ध्यान दिन आवश्यक रहेको बताए । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि टुक्रिएको जमिनमा सहकारीका माध्यमबाट खेती गर्न आवश्यक रहेको प्रधानमन्त्री ओलीले औंल्याए ।
       उनले एक ठाउँमा धेरै प्रकारका बालीको खेती गर्दा त्यसले फाइदा नहुने उल्लेख गर्दै एक ठाउँमा एउटै बालीको बृहत रुपमा उत्पादन गर्नु पर्नेमा जोड दिए । ‘एक ठाउँमा एउटा बालीको ठूलो मात्रामा उत्पादन भयो भने उपभोग र बाहिर पठाउनका लागि पुग्छ’, उनले भने–‘यसले प्रविधि र व्यवसाय सम्बन्धी विज्ञ पनि ल्याउन सक्छ ।’ ठूलो मात्रामा उत्पादन गरेमा कृषि सम्बन्धी विज्ञ पनि ल्याउन सकिने प्रधानमन्त्रीले स्पष्ट पारे ।

0 Comments

Leave your comments

;